उदयपुर । कोरोना भाइरस (कोभिड १९) का संक्रमित बढेसँगै उदयपुर एक हप्ता बन्द हुने भएको छ । कोरोना संक्रमण फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालय उदयपुरले एक हप्ता बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै भोली (आइतबार) देखि एकसाता उदयपुरमा यातायात बन्द गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार आइतबार बेलुका ८ बजे देखि २५ गते बेलुका ८ बजेसम्मका लािग चार पांग्रे र तीन पांग्रे सबै किसिमका सवारी साधन बन्द हुने छ ।
‘सरकारी कर्मचारीहरुको सवारी साधन भने परिचय पत्रसहित हिड्न पाउनेछ भने मोटरसाईकल एकजना मात्र सवार भई हिड्न पाउनेछ,’ उनले भने, ‘खाद्यन्न तथा अत्यावश्यक बस्तु, ढुवानी सेवा गर्ने सवारी साधनहरु निर्वाद रुपले सञ्चालन हुन पाउनेछन्, परीक्षणको दायार समेत बढाइने छ ।’
उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी) शनिबार बसेको बैंठकले यातायात ठप्प बनाउने निर्णय गरेको छ । बैठकले जिल्लामा लाग्ने हाटबजार बन्द गर्ने र जिल्ला भित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्कुची विहान १० देखि अपरान्ह ३ बजेसम्म मात्र सञ्चालन गर्न पाउने गरी निर्णय गरेको उनले जानकारी दिए ।
स्थानीय तहहरुसंग समन्वय गरी स्वास्थ्य कार्यालयले कोरोना परिक्षणको दायरा बढाउने, निर्णय बमोजिम काम नभएमा संक्रमण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमाजिम प्रमुख जिल्ला अधिकारीले कारवाही गर्ने निर्णय बैठकले गरेको छ ।

